Ekantipur News

Error loading feed.

Monday, November 14, 2011

साउदीमा नेपाली युवतीमाथि सामूहिक बलात्कार

काठमाडौ, कार्तिक २९ - घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली युवती सामूहिक बलात्कारमा परेकी छन् । उनको ढाड र खुट्टासमेत भाँच्चिएको छ ।
साउदीको राजधानी रियादमा कपिलवस्तुकी २६ वर्षीया नेपाली युवतीलाई सामूहिक बलात्कार गरी नेपाली दूतावासको गेटअगाडि फालिएको थियो । दुई महिनाअघि पनि बलात्कारमा परेकी एक युवती शरण खोज्दै दूतावास आइपुगेकी थिइन् ।
साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पीडितलाई एक अस्पतालमा उपचार गराइराखिएको छ । ‘सामूहिक बलात्कार गरी बिहान ३ बजेतिर दूतावासको गेटअगाडि ल्याएर फालिएको रहेछ,’ उनले ईकान्तिपुरसँग भने, ‘बाटोमा हिंड्ने बटुवाले थाहा पाएपछि स्टाफ बस्ने क्वार्टरमा घन्टी बजाइदिएपछि मात्रै जानकारी भयो ।’
दूतावासले सूचना पाएलगत्तै प्रहरीको साथ लिई अस्पतालमा लगिएको र आवश्यक प्रमाण सुरक्षित राखिएको जनाएको छ । ‘पीडित सामान्य अवस्थामा आइनसकेकाले घटना विवरणबारे पूरै जानकारी आइसकेको छैन,’ उनले भने, ‘पीडित बोल्न सक्ने अवस्थामा नरहेकाले सोधपुछ भएको छैन ।’
उनका अनुसार पीडितको स्पोन्सर पत्ता लागेकाले दोषी पक्राउ हुने सम्भावना प्रबल छ । ‘उनी काम गर्ने घरमालिक पत्ता लागिसकेकाले प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘यस घटनामा प्रमाण दरिलो रहेकाले अभियुक्त पक्राउ हुने र कानुनी कारबाही गर्न सकिने स्थिति छ ।’ उपचारपछि पीडितलाई न्याय दिलाएर मात्र स्वदेश पठाइने पनि उनले बताए ।
प्रकाशित मिति: २०६८ कार्तिक २९ १२:००